काठमाडौं । काठमाडौंको ऐतिहासिक धरहरा पुनर्निर्माणपछि सञ्चालनमा आएको तीन महिनामै बन्द भएको छ । लिफ्ट बिग्रिएपछि धरहरा अनिश्चितकालका लागि बन्द गर्नुपरेको सहरी विकास भवन निर्माण विभागका उपमहा निर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिएका छन् ।
“लिफ्टमा समस्या देखिएपछि केही दिनदेखि सेवा रोकिएको हो । समस्या समाधान गरेपछि पुनः सञ्चालनमा आउनेछ,” तुलाधर ले भने । २०७२ सालको भूकम्पले पूर्ण रूपमा ध्वस्त भएको धरहरा पुनर्निर्माण २०७५ सालमा सुरु भएको थियो । निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नहुँदै, गत असोज ३ गते संविधान दिवसको अवसर पारेर धरहरालाई परीक्षणका रूपमा सर्वसाधारणका लागि खोलिएको थियो ।
धरहराको प्रारम्भिक सञ्चालनमा दैनिक ६०० जनालाई निःशुल्क चढ्न पाउने व्यवस्था गरिएको थियो । यसका लागि अनलाइन मार्फत टिकट बुकिङको प्रावधान राखिएको थियो । पछि बुधबार र सार्वजनिक बिदाको दिनबाहेक दैनिक चढ्न पाउने व्यक्ति को संख्या बढाएर १,०५० पुर्याइएको थियो ।
धरहरामा हालसम्म २५,७४२ जनाले भ्रमण गरिसकेको तथ्यांक सार्वजनिक गरिएको छ । यद्यपि, लिफ्ट बिग्रिएपछि ऐतिहासिक धरहरा पुनः बन्द गर्नुपर्दा आगन्तुकहरूको उत्साहमा निराशा छाएको छ ।
