काठमाडौं । अमेरिका भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आफनो भ्रमण छोट्याएर आज स्वदेश फर्कन लाग्नु भएको छ । नेपालमा आएको प्राकृतिक विपत्तिका कारण देश विपद्मा परेपछि प्रधानमन्त्री ओली आफनो भ्रमण तालिका छोट्याएर स्वदेश फर्कन लाग्नु भएको हो ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले अमेरिकामा रहेको औपचारिक र अनौपचारिक कार्यक्रम समेत रद्द गर्नुभएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले देशमा आइपरेको विपत्तीका कारण आफु मर्माहत भएको प्रतिक्रिया दिनुभएको छ । काठमाडौं उपत्यकासहित देशभरि बाढी पहिरोले जनजीवन प्रभावित बनाएपछि अमेरिकाबाट सम्बन्धित निकायलाई उद्धारमा खट्न निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई उद्धारमा खटिन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एक नारायण अर्याल लगायतलाई समन्वय गर्न निर्देशन दिनुभएको थियो् । उहाँले विपद्का बेला सबै मिलेर उद्धारमा सहयोग गरौं भन्दै अपिल समेत जारी गर्नुभएको छ ।



