काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ११ जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे १० बजेसम्म देशभर बाढीपहिरोमा परेर ११ जनाको मृत्यु भएको हो । बाढीपहिरोमा परेर १० जना बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरीका अनुसार, पहिरोमा पुरिँएर काभ्रे तीन जनाको मृत्यु भएको छ । यस्तै, धनकुटा र पाँचथरमा २-२ तथा काठमाडौं र ललितपुरमा १-१ जनाको मृत्यु भएको छ ।
यस्तै, बाढीले बगाउँदा झापा र धादिङमा १-१ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल एपीएफले जनाएको छ । पहिरोमा पुरिएर ललितपुरमा ६, धनकुटामा २, काठमाडौं र धादिङमा १-१ जना गरी १० जना बेपत्ता भएका छन् ।
यसैगरी, बाढीपहिरोमा फसेका ७६० जनाको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरीका अनुसार, बाढीपहिरोका कारण अहिलेसम्म देशभर १६२ घरमा क्षति पुगेको छ ।



