काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निजामति सेवा ऐन संसोधन, प्रहरी परिचालन सम्बन्धि ऐन र शिक्षा सम्बन्धि ऐन पारित गर्न सकिएमा संघियता कार्यान्वयनमा सहजता आउने बताउनुभएको छ ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सभामुख घिमिरेले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरु निर्माण गर्न नसकिदा संवैधानिक समस्याहरु देखिने गरेको धारणा पनि राख्नुभयो ।
संघीय संसदको वर्षे अधिवेशनमा नै धेरै उपलब्धिमुलक कामहरु भएपनि संविधान कार्यान्वयनका लागि चाहिने कानुनहरु निर्माण हुन नसकेको उहाले बताउनुभयो । उहाले संविधान संसोधन गर्ने थलो संसद नै भएकाले यसको विधि, प्रक्रिया, विषयहरु बारे संसदमा छलफल गरेर समिति बनाउन सकिने जानकारी दिनुभयो ।
त्यस्तै सभामुख घिमिरेले वर्षे अधिवेशनमा उपसभामुखको आचरण बारे सांसदहरुले कुरो उठाएको भएपनि यस बारे छलफल नभई संसद अधिवेशन अन्त्य भएकाले आगामी अधिवेशनमा छलफल हुन सक्ने बताउनुभयो ।



