काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गर्नुभएको छ । नेपाल चिकित्सक संघद्धारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले महिला चिकित्सकहरूलाई सम्मान गर्नुभएको हो ।
सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन इन नेपाल अवार्ड अन्न्तर्गत डा. रीता गुरूङ, डा. शान्तकुमारी सापकोटा, डा. हीरा तुलाधर, डा. गीता सायमी र डा. कल्पना सुवेदी उपाध्याय हुनुहुन्छ ।
वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्ड अन्तर्गत डा. सुनिता आचार्य, डा. सुधा खकुरेल, डा.बिमला लाखे, डा.मालती त्रिपाठी र डा.अम्बिका श्रेष्ठ हुनुहुन्छ । उहाँहरुलाई राष्ट्रपति पौडेलले दोसल्ला एवम् सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नागरिकलाई रोगी हुनबाट बचाउनका लागि व्यापक काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । अहिलेको सन्दर्भमा स्वास्थ्य नीतिलाई थप प्रभावकारी बनाउनुपर्ने, स्वास्थ्य क्षेत्रमा महिलालाई सहज रुपमा काम गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
