पर्सा । पर्साको इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता वितरण सुरु भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार एक कार्यक्रमबीच सुपौली कार्यालयको उद्घाटन गरेका हुन् ।
योसँगै उक्त कार्यालयबाट नागरिकता वितरणसहितको सेवा सुरु भएको हो । कर्मचारी अभावमा तीन वर्षयता सुपौली कार्यालय बन्द थियो । अहिले भने सुपौली कार्यालयमा एकजना अधिकृतसहित ७ जना कर्मचारी कार्यरत छन् । यो कार्यालयले २०७५ सालदेखि सेवा दिए पनि नागरिकता वितरण भने गरेको थिएन ।
कार्यालय उद्घाटन गर्दै प्रजिअ भुसालले सुपौलीबाट पासपोर्टबाहेकको सेवा सञ्चालन हुने जानकारी दिँदै नागरिकता वितरण, प्रतिलिपि वितरण, राष्ट्रिय परिचयपत्रसहित अन्य कागजात प्रमाणित गर्ने कार्य हुने बताए । सुपौली इलाकाबाट सेवा सुरु भएपछि ठोरी, पटेर्वासुगौली, जिराभवानी र जगरनाथपुर गाउँपालिकाका स्थानीयलाई सहज हुनेछ ।



