काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेका दलका नेताहरुले जनयुद्धको अवमूल्यन गर्न खोजेकाले भण्डाफोर गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजित सहीद शेरमान कुँवर र मोहनचन्द्र गौतमको २० औं स्मृति दिवसमा प्रचण्डले जनयुद्ध वा सशस्त्र द्वन्द्वलाई संविधानले नै स्वीकार गरेको अवस्थामा सरकारमा रहेका दलका नेताहरुले हिंसा गर्ने दुष्साहस गरेको भन्दै जनतामा गएर भण्डाफोर गर्नुपर्ने बताउनुभएको हो ।
सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उहाले बताउनुभयो । प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उहाँले अब जनताको राउण्ड किक उनीहरुले देख्ने जिकिर गर्नुभयो ।
जनयुद्धका महान सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गर्नुभयो । शान्ति प्रक्रिया नटुंगिएको भनेर अदालतबाट जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस बनाउनबाट रोकिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्ड ले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र र अदालतले पनि पुन र्विचार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आफूले गरेका राम्रा कामको अपनत्व र स्वामित्व लिन आग्रह गर्दै उहाँले सरकारबाट बाहिरिएसंगै संगठन बनाउने र कमजोरी सच्याउने अवसर प्राप्त भएको पनि बताउनुभयो । परिवर्तनका विरुद्ध गर्न खोजिएको ज्यादति र अपमानविरुद्ध संघर्ष गर्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
