काठमाडौं । खेलकुदमन्त्री तेजुलाल चौधरीले ऐन नियम अनुसार चल्न खेलकुद संघसंस्थाहरुलाई चेतावनी दिनुभएको छ । बुधबार पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाडौंमा स्वागत गर्दै मन्त्री चौधरीले राखेपको ऐन र कानून अनुसार चल्न निर्देशन दिदै ऐन र कानून बिपरितको काम गरे आगामी दिनमा समस्या पर्न सक्ने चेतावनी दिनुभयो ।
ऐन कानूनमा समस्या भए बेलैमा संशोधन गरेर समस्या हल गर्न सकिने उहाले बताउनुभयो । उहाले खेलाडी र प्रशिक्षकलाई पहिलो प्राथमिकतामा राख्दै योजना र कार्यक्रम निर्माण गर्न पनि निर्देशन दिनुभयो ।
खेलाडी र प्रशिक्षकका लागि केहि नगर्ने तर कुराले डंका पिट्ने प्रवृति अन्त्य गर्न उहाले सुझाव दिनुभयो । उहाले राष्ट्रको गौरव बढाउने काम खेलाडीहरुले गरेको भन्दै खेलकुदको बिकासका लागि एकतावद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।



