काठमाडौं । झापाको दमकमा गौहत्या भएको छ । दमक नगरपालिका वडा नम्वर २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट मंगलबारराती गाई चोरेर लगेर हत्या गरिएको हो ।
गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट १०० मिटरको दूरीमा गाईलाई मारिएको छ । गाईको छाला तासेर मासु लगिएको छ ।
घटनास्थलमा पुग्नुभएका दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले घटना निन्दनीय रहेको र यो एउटा आपराधिक मनोबृत्ती भएकाहरुको झुण्डबाट भएको घटनाको निश्पक्ष छानबिन गर्ने बताउनुभएको छ ।
उहाले घटनास्थलमै रहनुभएका दमक प्रहरी प्रमखलाई घटनाको निश्पक्ष छानबिन गरि दोषी उपर हदैसम्मको कार्बाही गर्न आग्रह गर्नुभएको छ । यसैबिच, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले दमकमा भएको गौहत्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
दमकको घटनापछि सामाजिक संजालमार्फत अर्काको गोठको गाई चोरेर हत्या गर्नु निन्दनीय र चरम अराजकता भएको भन्दै यस प्रकारका कार्यहरू अविलम्ब रोक्न उहाले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।



