चितवन । बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।
दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए । उनका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन गरेपछि फार्महरुले आफैँ मूल्य निर्धारण गर्ने गरेका छन् । पोखरेलका अनुसार आजदेखि बिक्री मूल्य बढाइएको छ ।
दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर एक्सल अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय पाँच तय गरेको छ । ठूलो अण्डा रु चार सय ९५ र मध्यम अण्डाको मूल्य रु चार सय २५ तोकिएको हो ।
हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले आफ्नो फर्मले पनि अण्डाको मूल्य बढाएको बताए । उनले एक्सेल अण्डा को मूल्य प्रतिक्रेट रु पाँच, ठूलो र मध्यमको रु १० ले बढाइएको बताए । सबै फार्महरुले मूल्य बढाएको उनले जानकारी दिए । लामिछानेले भने “मूल्य बढ्दा पनि लागत मूल्यमा पुग्न अझै सकिएको छैन ।”
