काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको भूमिकालाई कटौती गर्ने काम सरकारले नगर्ने स्पष्ट पार्नु भएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक बिकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै यसलाई कटौती गर्ने काम वर्तमान सरकारले नगर्ने स्पष्ट पार्नुभएको हो ।
सरकारले सरकार, निजी क्षत्र र सहकारीलाई एक साथ विकासको गतिमा अघि बढाउने उहाले बताउनुभयो । उहाले वर्तमान सरकार संसदको अहिलेसम्मकै बलियो सरकार भएकाले भन्दै सरकारमा रहेका प्रत्येक मन्त्रीलाई काम नगर्ने छुट नभएको जिकिर गर्नुभयो ।
बिभिन्न नितिगत बिषयमा निजि क्षेत्रको असन्तुष्टि देखिएको सन्दर्भमा त्यसलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गरिरहेको उहाले बताउनुभयो । पौडेलले पुँजीगत खर्चको गुणात्मक वृद्धि नगरी विकास समृद्धिका कुरा गर्नुको कुनै अर्थ नहुने बताउनुभयो ।
बजेट विनियोजन कौशलका हिसाबले नेपाल अति कमजोर देखिएको भन्दै उहाले लागत अनुमान नगरिएका तथा प्रतिफलको सही अनुमान नगरिएका ११ हजार बढी योजना संघीय सरकारले सञ्चालन गर्नुपर्ने योजनाका रूपमा रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई अख्तियारको अनुसन्धानको दायरामा राख्न खोजिए को भन्दै आपत्ती जनाउनुभयो ।
यसका कारण पूर्वाधार, कलकारखानादेखि हरेक क्षेत्रमा ब्रेक लाग्न सक्ने उहाले बताउनुभयो । त्यस्तै उहाले बैंकहरुमा लगानी गर्नेले अरु क्षेत्रमा लगानी गर्न नपाउने व्यवस्थाले आर्थिक गतिविधिमा नै प्रभाव पार्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी अन्य व्यवसायीहरुले मुलकको आर्थिक समृद्धिमा निजी क्षेत्रको भूमिकालाई समेट्दै अघि बढ्न सरकार लाई सुझाव दिएका थिए ।



