काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप—विदेशमन्त्री रिचार्ड आर बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
शुक्रबार सिंहदरबारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।
त्यस्तै प्रधानमन्त्री ओलीले नेपाल अल्पविकसित मुलुकबाट स्तनोन्नती हुने क्रममा रहेको र राजनीतिक सहमति का आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको पनि जानकारी गराउनुभयो ।
सो क्रममा उपमन्त्री बर्माले दुई देशबीचको ७७ वर्षदेखिको सम्बन्धको दुईपक्षीय सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाको लागि खुसीको विषय भएको बताउनुभयो । उहाँले नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकामा बधाई दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
