काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्तप्रति आपत्ती जनाउनुभएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सापकोटाले नियम उलंघन गरेर सरकारले प्राधिकरणका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको भन्दै आपत्ती जनाउनुभयो ।
उक्त घटनाले सरकार देशमा अटेक्रेसी चलाउन खोजिरहेको भन्ने आशंका उत्पन्न भएको उहाको भनाइ छ । सापकोटाले अघिल्लो संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको छानविन गर्न उपसमिति बनाएको र समितिले दिएको प्रतिवेदनका आधारमा डेडिकेटेड र ट्रंक लाइनबाट समयमा नै महसुल नतिर्ने उपभोक्ता तथा ग्राहकहरूलाई आवश्यक कारवाही गर्न निर्देशन दिएको स्मरण गर्नुभयो ।
तर हालका लेखा समितिका सभापतिले उक्त निर्णयलाई उल्टाउन खोजेको उहाले आरोप लगाउनुभयो । त्यस्तै उहाले हालका लेखा समितिका सभापतिले उद्योगीसँग रहस्यमय भेट गरेको समेत आरोप लगाउनुभयो । सापकोटाले सार्वजनिक लेखा समितिको सभापति बिपक्षी दललाई दिनका लागि रुलिङ गर्न पनि माग गर्नुभयो ।



