काठमाडौं । त्रिशूली नदीमा हराइरहेका दुई वटा बस र यात्रुको खोजीका लागि उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिएको छ । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत सिमलतालमा शुक्रवार पहिरोसँगै खसेका बस र यात्रुको खोजीका लागि आज बिहानदेखि दुई सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग गरिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
नेपालमा भएकामध्ये उच्चस्तरको मानिने सोनार प्रविधि पानीमुनि साउन्ड वेभ पठाई त्यहाँ रहेका वस्तुहरूलाई स्क्यान गरेर आकृतिको रूपमा देखाउने प्रविधि हो ।
धमिलो पानीमा पनि काम गर्नसक्ने प्रभावकारी मानिएको यो प्रविधिबाट पानीमा फालिएको साउन्ड वेभ तलसम्म रहेका वस्तुसम्म पुगेर स्क्यान गरी आकृतिको रूपमा फिर्ता हुने प्रकारको रहेको छ ।
मोटर बोटमा जडान गरी लामो दुरीको क्षेत्रफलमा पानीमुनि रहेका सम्पूर्ण वस्तुहरूको आकृति कम्प्युटरमा हेर्न सकिन्छ । यो प्रविधिबाट सफलता मिल्ने विश्वाससमेत सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले गरेको छ ।
यसैबीच बससँगै हराएकामध्ये थप दुई जनाको शव भेटिएको छ । दुई वटा बसमा गरी ६२ जना हराएकामा पछिल्ला दुईसहित सात जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पछिल्लो पटक भेटिएका शव चितवनको भरतपुर–२२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपतको रहेको पुष्टि भएको छ । हिजोसम्म पाँच जनाको शव भेटिएको थियो । यस्तै आज अरू चार जनाको शव पनि भेटिएको छ । ती शव बससँगै हराइरहेकाहरूको हो वा होइन भन्ने पुष्टि गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
नयाँ प्रविधिले कसरी काम गर्छ..
चितवनका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार उक्त उपकरणलाई मोटर बोटमा जडान गरेर खोजी कार्य अगाडि बढाइएको छ ।
सो उपकरणबारे जानकार एक जना प्राविधिकका अनुसार त्यसलाई पानीभित्रको भूबनोटको समेत सर्भे गर्न सकिन्छ । त्यसले एक विशेष किसिमको आवाज उत्पादन गर्छ र उक्त आवाज कुनै पनि वस्तुमा ठोक्किएपछि उक्त वस्तुले आवाज परावर्तन गरेको आधारमा सो वस्तुको आकृति पत्ता लगाउन सकिन्छ ।
सो उपकरणले निरन्तर उत्पादन गर्ने आवाज र कुनै वस्तुले निरन्तर परावर्तन गर्ने आवाजको आधारमा बसको आकृति अनुमान गर्न सकिने हुँदा यसले त्रिशूली नदीमा हराइरहेको बसको खोजी कार्यलाई थप प्रभावकारी बनाउन सकिने विश्वास छ ।
त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ ।



