काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनुभएको छ । सोमबार शितल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिनुभएको हो । ओली संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो ।
त्यस्तै सोमबार नै सरकारका उपप्रधानमन्त्री एवं मन्त्रीहरुले पनि राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरु नियुक्त गरेपछि सपथ गराइएको हो ।
जस अनुसार प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास, विष्णु पौडेल, उपप्रधान तथा अर्थ, पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय रमेश लेखक, गृहमन्त्रीमा नियुक्त हुनुभएको छ ।
त्यस्तै शरतसिंह भण्डारी, श्रम तथा रोजगार, आरजु राणा देउवा, परराष्ट्र, नवलकिशोर साह सुडी, महिला बालबालिका, देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नुभएको छ । त्यस्तै बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी र दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त हुनुभएको छ ।
त्यस्तै तेजुलाल चौधरी, युवा तथा खेलकुद, प्रदीप यादव, खानेपानी, प्रदीप पौडेल, स्वास्थ्य, अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त हुनुभएको छ भने बद्री प्रसाद पाण्डे, पर्यटन , रामनाथ अधिकारी, कृषि, विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि, मानवीर राई, रक्षा, दीपक खड्का, जलस्रोत तथा ऊर्जा मन्त्री नियुक्त हुनुभएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले संघीय मामिला मन्त्रीमा राजकुमार गुप्ता र वन तथा वातावरण ऐनबहादुर शाहीलाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।



