काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एसईईको नजिताका बारेमा गम्भीर भएर समिक्षा गर्नुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै मन्त्री श्रेष्ठले एसईईको नजिता समाजको वास्तविक चित्रण भएको भन्दै सवैले ग्लानी महशुस गर्दै गम्भीर भएर समिक्षा गर्नुपर्ने बताउनुभएको हो ।
उहाले नजिता आइसकेको अवस्थामा सुधारको पाटोलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । शिक्षामन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभइ सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
शिक्षा मन्त्रालयमा बाहिरका कर्मचारी नआउने र शिक्षा क्षेत्रकै कर्मचारी आउने व्यवस्था गर्ने तथा शिक्षाको गुणस्तर मापन गर्ने संयन्त्र तयार पार्नेगरी काम भइरहेको उहाले जानकारी दिनुभयो । उहाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुका लागि छुट्टै सेवा आयोग बनाउने विषयमा काम भइरहेको पनि बताउनुभयो ।
त्यस्तै उहाले विद्यार्थी र शिक्षकको अनुपात असन्तुलित देखिएकाले प्राथमिक तहका दरबन्दी काटेर माथिल्लो तहमा दरबन्दी बढाउन सकिनेबारे मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो ।
