काठमाडौं । देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । ठूलो वर्षा भइरहेका बर्दिया, कास्की, उदयपुर लगायतका ठाउँका खोला र नदीमा अहिले बाढी आएको छ ।
यस्तै बाराको सिमरा, रतनपुरी, निजगढ, कोब्ली, कलैया र आसपासको क्षेत्रमा ठूलो पानी परिरहेकाले दुधौरा, पसाह, लाल बकैया लगायत क्षेत्र भई बहने अरू खोलाको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनुहुनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
उदयपुको सुन्दरपुर वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा पनि ठूलो पानी परेकाले त्रियुगा खोलाका साना सहायक नदीमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा बस्नेलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
यसैबीच मनसुनी प्रणाली झनै सक्रिय हुने भएकाले आउँदो बिहीवारसम्म सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार न्यूनचापीय रेखा नेपालको दक्षिणी भूभाग, सीमा आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने भएको हो । मनसुन थप सक्रिय भई आउँदो बिहीवारसम्म देशका धेरैजसो ठाउँमा वर्षा हुने महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ ।
बिहीवारसम्म देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको आंकलन गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँ तथा मधेस, कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा मेघ गर्जन, चट्याङसहित मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ठूलो पानी पर्न सक्ने र यसअघिबाट पनि पानी परिरहेका ३४ जिल्लालाई महाशाखाले उच्च जोखिमको सूचीमा राखेको छ ।
