काठमाडौं । काठमाडौंबाट दिल्ली जाँदै गरेको बसबाट पौने तीन करोड रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ । हेटौंडास्थित बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, मकवानपुरको संयुक्त टोलीले बस जाँचका क्रममा भेप सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

हेटौंडा उपमहानगरपालिका-११, थानाभर्याङमा सुरक्षा जाँचका क्रममा काठमाडौंबाट भारतको दिल्लीतर्फ जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको बसबाट भेप र पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले बताए ।
एसपी रिजालका अनुसार बसमा यात्रुको सीटमाथि सिलिङको भागमा ‘फल्स बटम’ बनाइएको छ। त्यसभित्र भन्सार छलेर ल्याइएका सरसामान राख्ने गरेको पाइएको छ । भेप पनि त्यसैभित्र पाइएको रिजालले बताए ।
बसमा लुकाएर लगिरहेको अवस्थामा ५८ कार्टून भेप फेला परेको एसपी रिजालले बताए । त्यसको मूल्य दुई करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ बराबर छ ।
भेप ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले बस चालक दोलखाको भीमेश्वर नगरपालिका-२ का ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुरको कटारी नगरपालिका-११ का २७ वर्षीय प्रविन्द्र राना, नुवाकोटको दुप्चेश्वर गाउँपालिका-७ का ३९ वर्षीय इन्द्रबहादुर दर्जी, ३० वर्षीय सन्तोष भुसाल र धनकुटाको बेलारा नगरपालिका-१६ का २९ वर्षीय राजकुमार हिमाङलाई पक्राउ गरेको छ ।
एसपी रिजालका अनुसार उनीहरूले काठमाडौंको बालाजु बसपार्कभन्दा केही माथि भत्केको पुल क्षेत्रबाट बसमा सामान राखेको पाइएको छ । बसको छतमा पहिले नै ‘फल्स बटन’ बनाइएको थियो ।
यो बस आधिकारिक रूपमा काठमाडौं-दिल्ली चल्ने भने नभएको उनले बताए । केही व्यक्तिले एक महीनाअघि मात्रै भाडामा लिएका थिए । उनीहरूले असार ५ गते मात्रै यात्रुलाई भारत घुमाउने भनेर काठमाडौंस्थित भारतीय दूतावासबाट रोड पर्मिट लिएको पाइएको एसपी रिजालले बताए ।
बसमा केही भारतीय यात्रु सवार थिए । उनीहरूलाई विभिन्न मान्छे मार्फत सम्पर्क गरेको पाइएको छ । पक्राउ परेका केही व्यक्ति यसअघि पनि अवैध सामान ओसारपसारमा संलग्न रहेको देखिएको प्रहरीको भनाइ छ ।



