काठमाडौं । सरकार र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच चार बुँदे सहमति भएको छ । बिभिन्न माग राख्दै आन्दोलनरत संघ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयबीच सोमबार सिंहदरबारमा भएको वार्तामा ४ बुदे सहमति भएको हो । सहमतिसंगै पेट्रोलियम ट्यांकर चालकहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।
पेट्रोलियम ट्यांकर चालकका मागका साथै यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न १५ दिनभित्र प्रतिवेदन पेश गर्न उपसमिति गठन गर्ने सहमति भएको छ ।
त्यस्तै आयल निगमले व्यवसायीहरुलाई दिई आए बमोजिमको पारिश्रमिक र सुविधा ट्यांकर चालक/सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता व्यक्त गर्ने सहमति भएको वाणिज्य तथा आपूति सचिव दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । उहाले पेट्रोलियम ट्यांकर चालकका समस्याप्रति सरकार गम्भीर भएकाले सहमति कार्यान्वयन हुने बताउनुभयो ।
त्यस्तै नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले १५ दिनभित्र सम्पूर्ण मजदुरहरुको माग पुरा हुने विश्वास व्यक्त गर्नुभयो । त्यसअवधिसम्म पनि आफुहरुको माग पुरा हुन नसके उपत्यकामा मात्रै नभइ देशैभरको डिपो लोड बन्द गर्ने उहाले बताउनुभयो ।
त्यस्तै दुईपक्षबीच विद्यमान कानूनी व्यवस्थाहरुको पालना सम्बन्धमा नियमित रुपमा प्रभावकारी अनुगमन गर्ने सहमति भएको छ । ट्यांकर चालक संघले आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता गरी उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको ढुवानी कार्य गर्ने सहमति भएको संघका अध्यक्ष लामाले बताउनुभयो ।
