काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ ।शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदको आगामी बैठकमा प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा जानकारी गराउनु माग गर्नुभएको हो ।
उहाले प्रधानमन्त्री विदेश भ्रमणमा जादा नै आफ्नो कार्यक्रमबारे सदनमा जानकारी गराउने अभ्यास रहेपनि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट आएका पाँच दिन हुँदा पनि सदनमा कुनै जानकारी प्राप्त नभएको धारणा राख्नुभयो । लेखकले राष्ट्रपतिको विदेश भ्रमणका बारेमा पनि सदनमा जानकारी गराउन पनि माग गर्नुभयो ।
देशको राष्ट्रपति, प्रधानमन्त्रीको विदेश भ्रमणका बारेमा पत्रपत्रिकाबाट थाहा पाउने अवस्था दुर्भाग्य भएको उहाको भनाइ छ । लेखकले सरकारका कारणले संसदको न्यूनतम मर्यादा कायम हुन नसकेकाले खेद व्यक्त गर्नुपर्ने बताउनुभयो ।
केहि समयपहिला गृहमन्त्रीले सदनमा रहेका नेताहरुमाथि लाञ्छना लगाउने काम भएको भन्दै गृहमन्त्रीको अभिव्यक्तिका बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उहाले बताउनुभयो । उहाले कांग्रेसले उठाएका बिषयमा सरकारका तर्फबाट जानकारी गराउनका लागि रुलिङ गर्न माग गर्नुभयो ।



