काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई राम्रो डेलिभरि दिएर मात्र सङ्घीयता बलियो हुने बताउनुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको बताउँदै जनतालाई राम्रो डेलिभरि दिनुपर्ने बताउनुभएको हो ।
यसका लागि सवै पक्ष एकतावद्ध हुनुपर्ने उहाको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सङ्घीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोशिस र प्रवृतिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने काममा सरकार गम्भीर भएर अघि बढेको उहाको भनाइ छ । उहाले अन्तरप्रदेश व्यवस्थापिका मञ्चको निष्कर्षहरुलाई कार्यान्वयन गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
छलफलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि मन्त्री, कानुनमन्त्री, सातै प्रदेशका सभामुख र उपसभामुख लगाएत सहभागी थिए ।
