जनकपुर । मधेश प्रदेशमा पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै आज वटसावित्री पर्व मनाइँदैछ । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउँछन् ।
वटसावित्री पर्वमा पतिको दीर्घायुको कामना वर र पीपलको पूजा गरिन्छ । पान, सुपारी, केरालगायत फलफूल चढाएर पूजा गर्नुका साथै पीपलको रुखमा रातो र पहेँलो धागो बेर्ने गरिन्छ ।
वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ । प्राचीनकालमा सतिसावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमै निधन भएपछि यो पूजाको परम्परा प्रारम्भ भएको जनविश्वास छ ।
वटसावित्रीको पूजाका प्रभावले सावित्रीले यमराजबाट पतिको प्राण फिर्ता ल्याएको र पति जीवित भएको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ । यसैले विवाहित महिलाहरू दिनभरि निराहार बसी वटसावित्री पर्व उत्साह र निष्ठापूर्वक मनाउने गर्छन् । यो पर्वमा वरको रुखमुनि ब्रह्मा, विष्णु र रुद्रसहितका देवताको पूजाअर्चना गरिन्छ ।



