वीरगञ्ज । गणतन्त्र दिवसको उपलक्ष्यमा मंगलबार वीरगञ्जमा बृक्षारोपण र सरसफाई कार्यक्रम गरिएका छन् । वीरगञ्जको चिनीमिल परिसमा रहेको प्रसीद्ध पशुपतिनाथ मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय पर्साको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका ९५ वटा विरुवा रोपिएको कार्यालय प्रमुख सुभाष चन्द्र दासले बताए ।
उनका अनुसार, मन्दिर परिसरको खाली जग्गामा रुद्राक्ष, मयूरपंखी र पारिजात फूलका विरुवाहरु रोपिएको हो । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको समुदघाटन गरेका थिए ।
यस्तै गणतन्त्र दिवसकै उपलक्ष्यमा पशुपतिनाथ मन्दिर परिसरमा सरसफाईपनि गरिएको थियो । सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वार्टर पर्साको आयोजनामा मन्दिर परिसरमा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाकोपनि सहभागीता रहेको थियो ।
डिजिन वन कार्यालय पर्साका प्रमुख दासको अध्यक्षता तथा वीरगञ्ज महानगरका मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कुमोद ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, सबैया साझेदारी वन समितिका अध्यक्ष शहरुम राउत गदी लगायतको सहभागीता रहेको थियो ।



