पर्सा । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।
वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक,विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै महानगर शिक्षा समितिको सोमबार बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए ।
“वीरगञ्ज महानगर शिक्षा समितिको सोमबार बसेको बैठकले अत्यधिक गर्मीको कारणले विद्यालयको पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ”, उनले भने, “तीन दिन वर्षे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न र गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुनेछ ।”
भोलि अर्थात मङ्गलबार भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ । महाशाखा प्रमुख कर्णले बिदा घोषणा गरेपनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने पनि बताए ।
