काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको बताउनुभएको छ । शुक्रबार संसद भवनमा प्रतिक्रिया दिदै उहाले प्रधानमन्त्रीले सदनको गतिरोध हटाउन निरन्तर पहल गरिरहेको भन्दै अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको बताउनुभएको हो ।
सहकारीको विषयमा उठेको समस्या समाधान गर्नको लागि कार्यदलले काम गरिरहेको र सहमति जुट्ने उहाको भनाइ छ । उहाले संसद चलिरहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउने कुरा उचित नहुने बताउनुभयो ।
त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसलाई संसदमा बोल्न नदिएको कुरा सहि नभएको बताउनुभयो । उहाले प्रतिपक्षीले उठाएका मागलाइ सम्बोधन गर्नेक्रममा कार्यदलमा छलफल हुँदा सदनको अवरोध हटाउन कांग्रेस तयार नभएको धारणा राख्नुभयो । कांग्रेस निकासका लागि गम्भीर नभएको हो की भन्ने आभाष भएको उहाको भनाइ छ ।
उहाले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै सदनबाट बजेट ल्याउन नसक्ने अवस्था आए त्यसको सम्पूर्ण जवाफदेहिता र जिम्मेवारी कांग्रेसकै हुने बताउनुभयो ।



