काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को दुई महिना लामो ‘राष्ट्रिय जागरण अभियान’ आज (शनिबार) देखि औपचारिक रूपमा शुरु हुने भएको छ।
दिउँसो २:३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिने पत्रकार सम्मेलनमार्फत अभियानको उद्घाटन गरिने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
उद्घाटन कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले विशेष सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
गत असोज २३ गते बसेको नेकपाको केन्द्रीय संयोजन समितिको बैठकले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म देशव्यापी रूपमा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै यस अभियानका क्रममा वडा र पालिका अधिवेशनहरूसमेत सम्पन्न गर्ने पार्टीको तयारी छ ।
राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र तथा जनअधिकारको संरक्षण, जनजीविकाका सवाल, पार्टी समायोजन, नयाँ सदस्यता वितरण र सङ्गठन सुदृढीकरणका उद्देश्यसहित यो विशेष राजनीतिक तथा सङ्गठनात्मक अभियान सञ्चालन गर्न लागिएको हो ।
अभियानअन्तर्गत तल्लो तहसम्म पार्टी समिति तथा भ्रातृ सङ्गठनहरूको बाँकी समायोजन पूरा गर्ने, सदस्यता नवीकरणलाई तीव्र बनाउने र पार्टीका विभिन्न तहमा प्रशिक्षण तथा भेलाहरू आयोजना गरिनेछन् ।
यसका साथै जनतासँगको सम्बन्ध जीवन्त बनाउन सांस्कृतिक, रचनात्मक, श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गरिनुका साथै हालैको विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा पार्टी पङ्क्ति खटिनेछ ।
अभियानका क्रममा महँगी, भ्रष्टाचार, बेरोजगारी र कालोबजारीविरुद्ध केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइने नेकपाले जनाएको छ।
