काठमाडौं । नेपालीहरूको महान् पर्व दुर्गा पक्ष अर्थात् बडादशैँ, धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा-आराधना र रात्रिमा जाग्राम बसेसँगै आज (आइतबार) देखि औपचारिक रूपमा समापन गरिँदै छ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाका अवसरमा साँझ महालक्ष्मीको भक्तिपूर्वक पूजा-आराधना गरी रातभर जाग्राम बसेसँगै गत आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) देखि सुरु भएको १५ दिन लामो बडादशैँ पर्व समापन हुन्छ ।
शास्त्रअनुसार गर्नुपर्ने सम्पूर्ण बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति सम्पन्न भएसँगै विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप रातो टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने-दिने क्रम पनि आजैदेखि समाप्त हुन्छ। दसैँभर पूजा-आराधना गरिएको जमरालाई आजै नजिकैको नदी, तलाउ, पोखरी वा पवित्र तीर्थस्थलमा लगेर सेलाइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार आश्विन शुक्ल पूर्णिमाको साँझ महालक्ष्मीको पूजा-आराधना गरी राति जाग्राम बस्ने मानिसको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मीले प्रवेश गरी धन, ऐश्वर्य र समृद्धि प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ । ‘को जाग्रति’ (को जागेको छरु) भन्ने प्रश्नबाट कोजाग्रत शब्द बनेको र राति जाग्राम बस्ने भक्तजनलाई महालक्ष्मीले कृपा गर्ने मान्यता रहेको छ ।
माता दुर्गाका तीन रूप (महाकाली, महालक्ष्मी र महासरस्वती) मध्ये महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ। नवरात्र विजयादशमीका दिन नै सकिने भए पनि सिङ्गो दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुने गर्दछ ।
कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिनअघि नै महालक्ष्मीको विशेष आराधना गरिने भएकाले यस पूर्णिमाको छुट्टै धार्मिक महत्त्व छ। यो पूर्णिमालाई ‘कौमुदी पूर्णिमा’ पनि भनिन्छ । धर्मशास्त्र अनुसार आजको राति जुवा खेल्ने र महालक्ष्मीका साथै ऐरावत हात्तीमा चढेका देवराज इन्द्रको पनि पूजा(आराधना गर्ने विधान रहेको छ ।
दुर्गा पक्षको समापनसँगै कात्तिक स्नान गरी तुलसीको विशेष रूपमा पूजा-आराधना गर्ने धार्मिक विधि आगामी कात्तिक ९ गते सोमबारदेखि सुरु हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। सोमबार साँझदेखि नै घरघरमा लिङ्गो गाडेर ‘आकाशदीपदान’ गर्ने कार्यसमेत सुरु हुनेछ ।
