पोखरा । पोखरामा स्वास्थ्य सेवा दिने औषधि पसल (फार्मेसी) कै आवरणमा प्रतिबन्धित लागुऔषधको अवैध कारोबार हुने गरेको गम्भीर तथ्य फेला परेको छ। औषधि बिक्री गर्ने पसलबाटै ठुलो परिमाणमा लागुऔषधजन्य औषधिहरू बरामद भएपछि यो गैरकानुनी धन्दाको पर्दाफास भएको हो ।
प्रहरीले पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित ‘जलधारे औषधि पसल’ का सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गाना लाई प्रतिबन्धित लागुऔषधका हजारौँ चक्कीसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले बुधबार उक्त औषधि पसलमा छापा मारेको थियो । खानतलासीका क्रममा ढुङ्गानाको साथ र पसलभित्र लुकाएर राखिएका चार प्रकारका प्रतिबन्धित लागुऔषध फेला परेका हुन् ।
प्रहरीका अनुसार फार्मेसी सञ्चालिका ढुङ्गानाका साथबाट कोडिप-पी (कोडिन) ६ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की गरी कुल ७ हजार १६० चक्की लागुऔषध बरामद गरिएको छ ।
“लागुऔषधको खरिदबिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा हामीले फार्मेसीमा छापा मारेका थियौँ,” कास्कीका डीएसपी पासवानले भन्नुभयो, “सो क्रममा ठुलो परिमाणमा लागुऔषधजन्य औषधिहरू फेला परे। सर्वसाधारणको स्वास्थ्यसँग जोडिएका औषधि पसलबाटै यसरी लागुऔषध बरामद हुनुले फार्मेसीहरूको अनुगमन र नियमन थप प्रभावकारी बनाउनुपर्ने चुनौती देखिएको छ।”
पक्राउ परेकी सञ्चालिका ढुङ्गानाविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत कसुर दर्ता गरी कास्की अदालतबाट म्याद थप गरेर गहन अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पोखरा क्षेत्रमा यसअघि पनि पटक-पटक फार्मेसीको आवरणमा लागुऔषधको अवैध धन्दा हुने गरेको फेला पर्ने गरेको छ। प्रहरीले त्यस्ता पसल सञ्चालकहरूलाई नियन्त्रणमा लिएर कारबाही चलाउँदै आए तापनि खुला सीमा र फितलो अनुगमनका कारण यस्ता अवैध गतिविधि पूर्ण रूपमा रोकिन सकेका छैनन् ।
