५ कात्तिक, पोखरिया (पर्सा) । विगत साढे तीन दशकदेखि अधिकार, पहिचान र सामाजिक सेवाको राजनीतिमा सक्रिय रहँदै आएका राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव नेजामुद्दीन शमानी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
रास्वपाको केन्द्रीय अनलाइन प्रणालीमार्फत साधारण सदस्यता लिएका शमानी आज विहान सामाजिक सञ्जालमा एक पोस्ट जारी गर्दै सार्वजनिकरुपमा जानकारी गराएका छन् ।
पार्टी परिवर्तनसँगै शमानीले आगामी स्थानीय तहको निर्वाचनमा पोखरिया नगरपालिकाको नगर प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने लक्ष्य स्पष्ट पारेका छन् । पोखरियाको चौतर्फी विकास, नागरिकका समस्या समाधान र सुशासन कायम गर्ने उद्देश्यका साथ आफू नयाँ सोच र नयाँ ऊर्जासहित रास्वपामा आबद्ध भएको उनको भनाइ छ । यद्यपि, रास्वपाले उनलाई नगर प्रमुखको आधिकारिक उम्मेदवार घोषणा गरिसकेको छैन भने उम्मेदवारीको अन्तिम टुंगो पार्टीको आन्तरिक प्रक्रिया र निर्णयपछि मात्रै लाग्ने बताइएको छ ।
लायन्स क्लब अफ पोखरियाका अध्यक्षसमेत रहेका शमानीको राजनीतिक यात्रा ३५ वर्ष लामो र संघर्षपूर्ण रहेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा सद्भावना विद्यार्थी मञ्चबाट स्ववियु निर्वाचन लडेर राजनीति शुरु गरेका उनले लोकतन्त्र स्थापनाको आन्दोलनमा १५ दिन जेल जीवनसमेत बिताएका थिए । त्यसपछि पर्सामा मधेश आन्दोलनको नेतृत्व, गणतन्त्र र संघीयताको संघर्षमा सक्रिय हुँदै उनले आफ्नै नेतृत्वमा संघर्ष समिति गठन गरी पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गराउन निर्णायक भूमिका खेलेका थिए ।
राजनीतिक नेतृत्वसँगै शमानीले पोखरिया क्षेत्रको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा उल्लेख्य योगदान पुर्याउँदै आएका छन् । पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गराउन पहल, कोभिड महामारीमा स्वास्थ्य सामग्री वितरण, आईसीयू तथा एनआईसीयू निर्माणमा समन्वय गर्नुका साथै भारतीय दूतावासको सहयोगमा ७६ लाख बराबरको विद्यालय भवन निर्माण र विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा साइकल वितरणमा उनले मुख्य भूमिका खेलेका छन् । साथै, सडक, सिँचाइ, मन्दिर, मस्जिद तथा सामाजिक संघसंस्थालाई सहयोग गर्दै उनले धार्मिक सद्भाव र विकासलाई सँगै अघि बढाएका छन् ।
३५ वर्षको जनसेवा, विकास प्रयास र रास्वपाको बढ्दो प्रभावकाबीच शमानीले यो कदम अगाडी बढाएको बताएका हुन् । पुराना दलहरूका लागि उनको उम्मेदवारी चुनौतीपूर्ण बन्न सक्ने आकलन स्थानीय विश्लेषकहरूले गरेका छन् ।
निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलहरूको सक्रियता बढेको छ भने शमानीको रास्वपा प्रवेशले स्थानीय चुनावी प्रतिस्पर्धामा कस्तो प्रभाव पार्छ भन्ने कुरा भने आगामी दिनमा झनै स्पष्ट हुँदै जानेछ ।
