काठमाडौं । आयुष्मान खुराना र सारा अली खान अभिनीत बलिउड फिल्म ‘उड्ता तीर’लाई नेपालमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ । सूचना तथा सञ्चार मन्त्रालयले फिल्म वितरण कम्पनी नेसनल सिने ग्रुपलाई पत्र लेख्दै चलचित्रलाई सार्वजनिक प्रदर्शनको अनुमति दिन नसकिने जनाएको हो ।
निर्देशक आकाश कौशिकको पहिलो फिचर फिल्म ‘उड्ता तीर’ शुक्रबारदेखि नेपालमा प्रदर्शन गर्ने तयारी थियो । तर, निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपदफा (३) ले निषेध गरेका विषयवस्तु समावेश भएको भन्दै मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले प्रदर्शन अनुमति नदिएको हो ।
फिल्ममा भारत र पाकिस्तानबीचको तिक्तता तथा द्वन्द्वसँग सम्बन्धित विषयवस्तु प्रस्तुत गरिएकाले केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शनमा रोक लगाएको बताइएको छ ।
फिल्म लेखक तथा समीक्षक सामिप्यराज तिमिल्सिनाका अनुसार कुनै चलचित्रले मित्रराष्ट्रको राष्ट्रियता, छवि वा समुदायमा प्रतिकूल असर पार्ने देखिएमा त्यसको प्रदर्शन रोक्न सकिने कानुनी व्यवस्था छ ।
निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ मा नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सम्बन्ध वा विभिन्न वर्ग तथा जातिबीचको सुसम्बन्धमा खलल पार्ने देखिएमा त्यस्तो चलचित्रलाई प्रदर्शन अनुमति नदिने व्यवस्था छ । सोही कानुनी प्रावधानका आधारमा ‘उड्ता तीर’को प्रदर्शन रोकिएको तिमिल्सिनाको भनाइ छ ।
