काठमाडौं । बडादसैँ एवं नवरात्रको नवौँ दिन आज (मंगलबार) देशभर नवदुर्गा भगवतीको नवौँ रूप सिद्धिदात्रीको विशेष पूजा-आराधना गरी महानवमी पर्व मनाइँदै छ। यस वर्ष तिथि वृद्धिका कारण आइतबार र सोमबार दुई दिन महाअष्टमी मनाइएपछि आज महानवमी मनाउन लागिएको हो ।
महानवमीका दिन घटस्थापनाका दिन दसैँघर वा पूजाकोठामा राखिएको जमरा विभिन्न शक्तिपीठहरूमा लगेर चढाउने परम्परा रहेको छ। दसैँघर, कोत तथा देशभरका देवी मन्दिरहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष अनुष्ठान, दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्रहरूको पाठ गरिन्छ ।
पशुबलि नदिने तथा शाकाहारी धर्मावलम्बीहरूले भने महानवमीका दिन कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलको बलि दिई पायस (खीर) चढाउने गर्दछन् । कतिपय शक्तिपीठहरूमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगा गरी ‘पञ्चबलि’ दिने विशेष परम्परासमेत रहेको छ। अधिकांश स्थानमा महाअष्टमीका दिन बलि दिने र महानवमीका दिन मार हान्ने चलन छ ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन भगवती चामुण्डा देवीले दैत्य रक्तबीजको वध गरेकी थिइन्। सोही पौराणिक विजयको सम्झनामा महानवमी पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ ।
नवरात्रको अन्तिम दिन आज नवदुर्गामध्येकी नवौँ देवी ‘सिद्धिदात्री’ को विधिपूर्वक पूजा-आराधना गरिन्छ। आजको दिन दुर्गाको साक्षात प्रतीकका रूपमा स-साना कन्याहरूलाई पूजा गरी भोजन गराउने र दक्षिणा दिने धार्मिक परम्परा छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष अनुष्ठान गरिन्छ।
महानवमीका अवसरमा देशका विभिन्न कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गर्ने गरिन्छ । काठमाडौँको ऐतिहासिक हनुमानढोका दरबारका साथै नेपाली सेनाका विभिन्न ब्यारेक, गुल्म र सुरक्षा निकायका कोतहरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र तोपको सलामीसहित कोतपूजा आयोजना गरिएको छ ।
महानवमीका अवसरमा उपत्यकाका गुह्येश्वरी, नक्साल भगवती, भद्रकाली, दक्षिणकालीसहित देशभरका प्रमुख शक्तिपीठ हरूमा बिहानैदेखि पूजा-आराधना र दर्शन गर्ने भक्तजनको ठुलो भीड लागेको छ ।
