काठमाडौं । यस वर्षको बडादसैँमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले पञ्चाङ्ग निर्णायक विकास समितिले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको आधिकारिक पात्रो (पञ्चाङ्ग) अनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी परेको हो।
कात्तिक १ गते गरिएको महाअष्टमीको पूजा-आराधना तथा विधि विधानलाई कात्तिक २ गते पनि दसैँ घर वा पूजा कोठामा दोहोर्याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।
प्रा।डा। भट्टराईका अनुसार कात्तिक २ गते नवरात्रको नवौँ दिन परे तापनि शास्त्रीय कर्म भने आठौँ दिन (महाअष्टमी) कै दोहोर्याउनुपर्नेछ। जसअनुसार आज (कात्तिक २ गते) पनि पूजा कोठाहरूमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीकै विधिपूर्वक पूजा-आराधना गरिनेछ ।
आश्विन शुक्ल अष्टमीको राति गरिने विशेष ‘कालरात्रि पूजा’ भने कात्तिक १ गते राति नै सम्पन्न भइसकेको धर्मशास्त्रविद्हरूले जनाएका छन् । यस वर्ष अष्टमी तिथि दुई दिन परेकाले नवरात्र वास्तवमा ‘दशरात्र’ बन्न पुगेको छ।
यसले गर्दा आगामी विजयादशमीका दिन सर्वसाधारणले १० रात्रिको जमरा ग्रहण गर्नेछन् । शास्त्रमा देवीको साधना, पूजा र आराधनाका लागि समय थपिनुलाई फलदायी नै मानिने धर्मशास्त्रविद्हरूको भनाइ छ ।
ऐतिहासिक हनुमानढोका दरबारको दसैँ घरमा आइतबार सामान्य पूजा-आराधना गरिएको थियो भने मुख्य मानिने मूल महाअष्टमी पूजा आज (सोमबार) गरिँदै छ ।
दरबार हेरचाह अड्डाका अनुसार महाअष्टमीको विशेष अवसरमा हनुमानढोका दरबारमा तान्त्रिक विधिअनुसार १०८ राँगा र बोकाको बलिसहित विशेष पूजा-आराधना गर्ने परम्परा अनुसार आजै मूल पूजा सम्पन्न गरिनेछ ।
