काठमाडौं । आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिकोणत्मक शृङ्खलाको तेस्रो खेलमा आज (सोमबार) नेपालले क्यानडाको सामना गर्दै छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
नेपाल र क्यानडा दुवैका लागि अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाउन आजको खेल अत्यन्तै महत्त्वपूर्ण मानिएको छ । जारी शृङ्खलामा उत्कृष्ट लयमा रहेको नेपाल लगातार तेस्रो जित दर्ता गर्दै एक खेल बाँकी छँदै शीर्ष छ (Top 6) भित्र आफ्नो स्थान सुरक्षित गर्ने दाउमा छ। यता शीर्ष छ मा पर्ने सम्भावना जीवित राख्न क्यानडालाई भने आजको खेल जित्नैपर्ने दबाब छ ।
हाल अङ्क तालिकामा नेपाल क्यानडाभन्दा एक अङ्कले अगाडि रहेको छ। नेपालले ३४ खेलबाट १३ जित, १९ हार र दुई बराबरीसहित २८ अङ्क जोडेको छ। सातौँ स्थानमा रहेको क्यानडाको ३५ खेलबाट ११ जित, १९ हार र पाँच खेलमा अङ्क बाँड्दै २७ अङ्क रहेको छ ।
नेपालले जारी शृङ्खलाका सुरुआती दुवै खेल जितेर उच्च मनोबल बनाएको छ। पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक ओमानमाथि ११३ रनको फराकिलो र कीर्तिमानी जित निकालेको थियो ।
अर्कोतर्फ, क्यानडाले पहिलो खेलमा नेपालसँग पराजित भए पनि दोस्रो खेलमा ओमानलाई ५८ रनले हराउँदै शानदार पुनरागमन गरेको थियो। उक्त खेलमा क्यानडाले पहिले ब्याटिङ गर्दै २५६ रनको बलियो योगफल खडा गरेकाले नेपाली बलरहरूका लागि आजको खेलमा क्यानडाको ब्याटिङ लाइनअप रोक्नु मुख्य चुनौती हुनेछ।
जारी शृङ्खलामा अहिलेसम्म पहिले ब्याटिङ गर्ने टोलीले नै जित हात पारेकाले आजको खेलमा पनि टस र सुरुआती ब्याटिङले नतिजामा ठुलो प्रभाव पार्ने देखिन्छ। नेपालले क्यानडाविरुद्ध २३५ र ओमानविरुद्ध २६३ रन बनाउँदै दुवै खेलमा प्रतिस्पर्धी योगफल खडा गरेको थियो ।
नेपाल र क्यानडाबिच हालसम्म भएका ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय ९इम्क्ष्० खेलमध्ये नेपालले ४ र क्यानडाले २ खेल जितेका छन् ।
आजको खेलमा क्यानडालाई हराउन सके नेपालले शीर्ष छ भित्र स्थान सुनिश्चित गर्नुका साथै शृङ्खलाको अन्तिम खेलमा ओमानविरुद्धको सम्भावित दबाब घटाउनेछ । तर पराजित भएको खण्डमा भने नेपालले अन्तिम खेलमा अनिवार्य रूपमा ओमानलाई हराउनुपर्ने समीकरण बन्नेछ ।
