वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादसैँको दोस्रो दिन आज (सोमबार) घर-घरका पूजा कोठा तथा दसैँघरमा नवदुर्गामध्ये की दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा(आराधना गरिँदै छ ।
नवरात्रको पहिलो दिन (आइतबार) वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको पूजास्थलमा पहिलो देवी शैलपुत्रीको आह्वान र पूजा गरिएको थियो । दोस्रो दिन आज सोही स्थानमा सच्चिदानन्द रूप ब्रह्मको बोध गराउने ब्रह्मचारिणी देवीलाई आह्वान गरी विशेष पूजा-आराधना गर्न लागिएको हो ।
शास्त्रअनुसार तपस्या, त्याग र संयमको प्रतीक मानिने ब्रह्मचारिणी देवीको निष्ठापूर्वक उपासना गर्दा शक्ति, ऐश्वर्य, विद्या र आरोग्य प्राप्त हुने धार्मिक विश्वास छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्रहरूको पाठ-पारायण गरिन्छ ।
वैदिक सनातन धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष अनुष्ठान गरी विजयादशमीका दिन टीका तथा जमराका रूपमा देवीको महाप्रसाद ग्रहण गर्दछन् ।
बडादसैँको दोस्रो दिन आज काठमाडौँ उपत्यकाका गुह्येश्वरी, शोभा भगवती, भद्रकाली, मैतीदेवी, नक्साल भगवती, दक्षिण कालीका साथै वीरगञ्जको प्रसिद्ध माइस्थान गहवा माईलगायत देशभरका शक्तिपीठहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको बाक्लो घुइँचो लागेको छ ।
यसैबिच, राज्यका तर्फबाट नवदुर्गाको पूजा-आराधना गरिने वसन्तपुरस्थित ऐतिहासिक हनुमानढोका दरबारको दसैँघरमा पनि वैदिक विधिपूर्वक ब्रह्मचारिणी देवीको विशेष पूजा-अर्चना गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
