२३ असोज, जनकपुरधाम । धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको ज्यान गएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफी रहेका छन् । चक्कु प्रहारबाट गम्भीर घाइते भएका २५ वर्षीय इम्तियाज राइनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले साफीको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २२ वर्षीय मोहम्मद इर्साद खानलाई नियन्त्रणमा लिएको छ । पुरानो रिसइबीका कारण खानले दुवै जनाको छाती र पेटमा धारिलो हतियार (चक्कु) प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका आरोपी खानमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
