रौतहट । नेकपा (एमाले) की मधेश प्रदेशसभा सदस्य जैनब खातुनको उपचारका क्रममा निधन भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी बासिन्दा खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा निधन भएको हो ।
छोरा रौजन मियाँका अनुसार बुधबार अचानक स्वास्थ्यमा समस्या आई ब्लड सुगर (चिनीको मात्रा) अत्यधिक बढेपछि उनलाई उपचारका लागि नेशनल मेडिकल कलेज लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनले अन्तिम सास फेरेकी हुन् ।
खातुन मधेश प्रदेशसभामा रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) को तर्फबाट समानुपातिक प्रणालीमार्फत सांसद बनेकी थिइन्। उहाँको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा प्रदेशसभा सदस्यहरूले शोक व्यक्त गरेका छन् ।
