जनकपुरधाम । धनुषामा एक भारतीय नागरिक स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार प्रहरी चौकी धनौजीबाट प्रहरी सहायक निरीक्षक राजकुमार मिश्रको कमान्डमा खटिएको गस्ती टोलीले भारततर्फबाट गौरदाहातर्फ आउँदै गरेको बीआर ३२ बीबी १८९९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच उक्त रकम सहित आरोपित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्ला, ग्राम खैनाका ३५ वर्षीय राधाकान्त बयाग्रे रहेका छन् । चेकजाँचका क्रममा बयाग्रेको साथबाट स्रोत नखुलेको नेपाली नगद १३ लाख ६५ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
प्रहरीका अनुसार उक्त रकम कपडाको पेटीभित्र लुकाईछिपाई कम्मरमा बाँधेर राखिएको अवस्थामा बरामद गरिएको हो । ठूलो परिमाणमा नगद बोकेर सीमावर्ती क्षेत्रबाट आवतजावत गरिरहेको र गतिविधि शंकास्पद देखिएपछि मोटरसाइकल रोकेर खानतलासी गर्दा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।
बरामद रकमको स्रोत, रकम कहाँबाट प्राप्त भएको हो, कहाँ लैजान लागिएको थियो तथा उक्त रकमसँग अन्य व्यक्ति वा कारोबारको सम्बन्ध छ कि छैन भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अभियुक्त माथि वित्तीय कारोबारसम्बन्धी कसुरमा मुलुकी अपराध संहिता, २०७४ तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतका कसुरमा अनुसन्धान सुरु गरिएको छ ।
