वीरगञ्ज । सवारी साधन, कलकारखाना र यन्त्र-उपकरणका निर्माता मानिने भगवान् विश्वकर्माको पूजा-आराधना गरी आज देशभर विश्वकर्मा पूजा एवम् वास्तु दिवस मनाइँदै छ। प्रत्येक वर्ष असोज १ गते अर्थात् आश्विन सङ्क्रान्तिका दिन यो पर्व मनाउने वैदिक परम्परा रहँदै आएको छ ।
आजका दिन विभिन्न कलकारखाना, औद्योगिक प्रतिष्ठान, कार्यशाला (वर्कसप) तथा निर्माणस्थललाई विशेष रूपमा सजाएर कालिगढ तथा श्रमिकहरूले भव्यताका साथ विश्वकर्मा बाबाको पूजा गर्छन्।
आफूले प्रयोग गर्ने औजार, मेसिनरी सामान तथा इन्जिन जडान भएका साना-ठुला सवारी साधनहरूलाई सफा गरी पूजा गर्नाले दीर्घकालीनसम्म नबिग्रने, काम प्रभावकारी हुने र काममा सुरक्षा पाइने धार्मिक विश्वास छ ।
शास्त्रअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी लुकाउनुभएको धार्मिक मान्यता छ।
प्रा. तोयराज नेपालका अनुसार सोही समयदेखि विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानेर पूजा गर्ने परम्परा चलेको हो। भारतको गुजरात राज्यमा रहेको सो ऐतिहासिक द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ ।
वास्तुशास्त्री शिव पोखरेलका अनुसार ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु ग्रन्थका रचनाकार भगवान् विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाता मानिन्छ।
चार उपवेदहरूमध्ये स्थापत्यवेदमा आधारित वास्तुशास्त्रको महत्व पछिल्लो समय नेपालमा पनि बढ्दो क्रममा छ । व्यवस्थित सहर तथा आवास निर्माणमा वास्तुशास्त्रको प्रयोग बढ्न थालेकाले आजको दिनलाई वास्तु दिवसका रूपमा समेत विशेष महत्त्वका साथ मनाउने गरिन्छ ।
आज दिनभर श्रद्धापूर्वक पूजा गरिएको बालुवा वा माटोबाट निर्मित विश्वकर्माको मूर्तिलाई साँझ वाग्मतीको मुहानस्थल सुन्दरीजल तथा अन्य पवित्र नदीहरूमा लगेर विधिपूर्वक विसर्जन (सेलाउने) गरिन्छ ।
