२९ भदौ, काठमाडौँ । हिन्दू धर्मावलम्बी नारीहरू आज देवादिदेव महादेवको पूजा–आराधना गरी धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका (तीज) मनाउँदै छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विवाहित महिला पतिको दीर्घायु, सुस्वास्थ्य तथा दाम्पत्य जीवनको सफलताको कामना गर्दै र अविवाहित युवतीहरू सुयोग्य वरको प्रार्थनासहित व्रत बस्ने गर्छन् ।
महर्षि आपस्तम्बका अनुसार चतुर्थीसहितको तृतीया तिथि हरितालिका व्रतका लागि उत्तम मानिन्छ। भाद्र शुक्ल तृतीयाका दिन विधिपूर्वक शिव–पार्वतीको पूजा र उपासना गर्नाले पारिवारिक सुख, शान्ति तथा कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।
संस्कृत भाषाका ‘हरित’ (हरण गरिएको) र ‘आलिका’ (साथी/सखी) शब्द मिलेर ‘हरितालिका’ बनेको हो । पौराणिक कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीलाई पिताले इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले उनलाई हरण गरी गुप्त स्थानमा लुकाएका थिए । सोही गुप्त स्थानमा पार्वतीले कठोर निराहार व्रत बसी महादेवलाई पतिको रूपमा प्राप्त गरेको धार्मिक मान्यता छ ।
धर्मशास्त्रविद्हरूका अनुसार तीजको व्रत आफ्नै शारीरिक अवस्था र स्वास्थ्यलाई ध्यानमा राखी निराहार, जलाहार वा फलाहारमध्ये उपयुक्त विधिबाट बस्न सकिन्छ । शास्त्रमा ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् शरीर र स्वास्थ्यको रक्षा गर्नु पहिलो कर्तव्य भनिएकाले स्वास्थ्य कमजोर भएकाहरूले फलफूल, दूध तथा जल ग्रहण गरेर व्रत बस्न सक्ने विधान छ । एकादशी र तीजमा अन्न भोजन वर्जित भए पनि स्कन्द पुराणअनुसार अत्यावश्यक औषधि तथा फलाहार सेवनले व्रत भङ्ग नहुने शास्त्रीय मत छ ।
तीजका अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरका साथै देशभरका शिवालयहरूमा एकाबिहानैदेखि बर्तालु महिलाहरूको ठुलो घुइँचो लागेको छ । रातो, हरियो र पहेंलो पोसाकमा सजिएका महिलाहरूले मन्दिर परिसरमा पूजा-आराधना गर्नुका साथै गीत र नृत्यका माध्यमबाट आफ्ना मनका भाव, सुख-दुःख र भक्तिगाथा व्यक्त गरिरहेका छन् ।
