वीरगञ्ज । पर्सा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भारी मात्रामा गाँजा र प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको नियमित गस्ती टोलीले बिहीबार विशेष सूचनाका आधारमा पटेर्वासुगौली गाउँपालिका र वीरगञ्ज महानगरपालिकाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका–४ भथौराका ७० वर्षीय दुखी महतो र एक भारतीय नागरिक रहेका छन्। प्रहरीले महतोको घरमा लुकाइछिपाइ राखिएको अवस्थामा १८ किलो ४०० ग्राम गाँजा बरामद गरेको छ ।
यसैगरी, वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर क्षेत्रबाट शङ्कास्पद अवस्थामा फेला परेका भारतीय नागरिकलाई जाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै अभियुक्तलाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
