बारा । बाराको कोल्हबी नगरपालिका–४ सपही जाने बाटोबाट वन गस्ती टोलीले अवैध रूपमा ओसारपसार भइरहेको साल जातको काठ बरामद गरेको छ । कोल्हबी सब–डिभिजन वन कार्यालयका वन अधिकृत कृष्ण पटेलको कमाण्डमा खटिएको वन गस्ती टोलीले गएराति दुईवटा साइकलमा लोड गरी लैजाँदै गरेको दुई थान सालको काठको गोलिया बरामद गरेको हो ।
डिभिजन वन कार्यालय बाराका अनुसार बरामद गरिएको काठ करिब १० क्युफिट रहेको छ । वन गस्ती टोलीलाई देखेपछि काठ ओसारपसारमा संलग्न व्यक्तिहरू साइकल तथा काठ छाडेर फरार भएका थिए ।
गस्ती टोलीले घटनास्थलबाट बरामद गरेको काठ आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि कोल्हबी सब–डिभिजन वन कार्यालयको प्राङ्गणमा राखेको छ ।
घटनामा संलग्न काठ तस्करहरूको खोजी तथा पहिचानका लागि वन कार्यालयले अनुसन्धान अघि बढाएको जनाएको छ । फरार व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
पछिल्लो समय वन क्षेत्रबाट हुने अवैध काठ चोरी तथा ओसारपसार नियन्त्रण गर्न वन गस्तीलाई थप सक्रिय बनाइएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
वन कार्यालयले वन पैदावारको अवैध चोरी, कटानी तथा ओसारपसार नियन्त्रणका लागि स्थानीयवासीलाई समेत सहयोग गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिनेछ ।
