काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनका लागि उडान भरिरहेको एउटा कार्गो विमान अवतरण का क्रममा धावनमार्गबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। आइतबार दिउँसो भएको उक्त भीषण दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
पोर्टो रिकोको सान जुआनबाट मियामी आएको ३२ वर्ष पुरानो ‘बोइङ–७६७’ विमान धावनमार्ग पार गरी नजिकै रहेका सवारीसाधनहरूसँग ठोक्किन पुगेको थियो । ठक्करलगत्तै विमानमा भीषण आगलागी भई बाक्लो कालो धुवाँको बादल फैलिएको थियो ।
मियामी–डेड अग्नि तथा उद्धार विभागका प्रमुख राइड जादाल्लाहका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई तुरुन्तै ट्रमा सेन्टर भर्ना गरिएको छ भने बाँकी दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
२१ एयरद्वारा सञ्चालित तथा अमेजनका लागि प्रयोग हुँदै आएको उक्त कार्गो विमान धावनमार्गबाट बाहिरिँदा करिब १३० माइल प्रतिघण्टाको उच्च गतिमा रहेको फ्लाइट ट्र्याकिङ तथ्याङ्कले देखाएको छ ।
दुर्घटनाअघि चालक दलका सदस्यहरूले कुनै पनि किसिमको आपत्कालीन सङ्केत (मेडे\इमरर्जेन्सी) नदिएको हवाई ट्राफिक नियन्त्रणको अडियो समीक्षाबाट पुष्टि भएको छ ।
दुर्घटनापछि विमानस्थलमा केही समयका लागि सम्पूर्ण उडान तथा अवतरण पूर्ण रूपमा ठप्प पारिएको थियो। क्षतिग्रस्त विमान अझै पनि धावनमार्ग क्षेत्रमै रहेकाले सोमबारसम्म पनि थप उडानहरू प्रभावित हुने बताइएको छ ।
घटनाको यथार्थ कारण पत्ता लगाउन अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) र सङ्घीय उड्डयन प्रशासन (FAA) ले सूक्ष्म अनुसन्धान सुरु गरिसकेका छन् ।
