वीरगञ्ज । हाल देशमा मनसुनी वायुको प्रभाव कायम रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेका कारण देशभर मौसम बदली भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा साधारणतया बादल लागेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज सोमबार दिनभर देशभर साधारणतया बादली रहनेछ । देशका हिमाली भूभागका केही र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
विशेषगरी तराई क्षेत्रमा मनसुनको प्रभाव व्यापक देखिने भएको छ, जसअन्तर्गत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा, बागमती र गण्डकीका तराईका केही स्थानमा तथा मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने आकलन गरिएको छ ।
तराईका अन्य भूभागको तुलनामा मधेस प्रदेशमा तुलनात्मक रूपमा कम स्थानमा वर्षाको सम्भावना औँल्याइए तापनि मनसुनी प्रणाली सक्रिय रहेका कारण मधेसवासीलाई समेत सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन् । खुला आकाशमुनि बस्दा वा कृषि कर्म गर्दा चट्याङको उच्च जोखिम रहने भएकाले सावधानी अपनाउन विशेष अपिल गरिएको छ ।
यसैबीच, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाका कारण नदीनालामा पानीको सतह बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।
