बारा । बाराको पचरौता नगरपालिकास्थित धानखेतबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूपदार्थ गाँजा बरामद गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पचरौता–७ बेनौलीबाट १५१ किलो गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् सूचना अधिकारी (डीएसपी) मीनबहादुर घलेका अनुसार शनिबार राति करिब १०:३० बजे बेनौली चोकबाट ३०० मिटर पूर्व धानखेतमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।
प्रहरी चौकी श्रीनगर बैरियाका प्रहरी सहायक निरीक्षक (असई) राजेश सिंह र सशस्त्र प्रहरी बल (बीओपी बेनौली) का प्रहरी नायब निरीक्षक (सई) श्यामबहादुर खत्रीको नेतृत्वमा खटिएको संयुक्त एम्बुस टोलीले कारबाही चलाएको थियो ।
धानखेतको आलीको बाटो हुँदै ८–९ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले पिठ्युँमा बोकेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो। प्रहरीलाई देखेलगत्तै उनीहरू बोकेको गाँजाका पोका धानखेतमै फालेर अँध्यारोको फाइदा उठाउँदै फरार भएका थिए ।
तस्करहरूले छाडेर भागेका ९ वटा जुटका बोरा खानतलासी गर्दा प्रत्येक पोकामा करिब १६.७७ किलोका दरले कुल १५१ किलो गाँजा फेला परेको डीएसपी घलेले जानकारी दिए ।
बरामद गाँजालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको छ । गाँजा फालेर फरार भएका व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
