वीरगञ्ज । महोत्तरीमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको करिब २ करोड ४० लाख रुपैयाँ मूल्य बराबरका एप्पल कम्पनीका एयरपड्स बरामद गरिएको छ । सशस्त्र प्रहरीका अनुसार सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार बिहान १ हजार २०० थान एयरपड्स बरामद गरिएको हो ।
भारतबाट अवैध रूपमा सामान भित्र्याउँदै गरेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउटपोस्ट (बीओपी) खैरवनीको संयुक्त टोलीले गस्ती गर्ने क्रममा एयरपड्स बरामद गरेको हो ।
सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि एयरपड्स बोकेर आएका व्यक्ति सामान छाडेर फरार भएका थिए । फरार व्यक्तिको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद एयरपड्स आवश्यक कानुनी प्रक्रियाका लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका सामान नियन्त्रणमा लिएर अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।
