१६ भदौ, काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्मा मृत अवस्थामा फेला परेका छन् ।
रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखातर्फ पर्ने त्रिशूली नदीको किनारमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीले बगाएर ल्याएको अवस्थामा शर्माको शव फेला परेको हो ।
मूल रूपमा हुम्लाको ताजाकोट गाउँपालिका–२ का स्थानीय शर्मा भन्सार कार्यालय टिमुरेमा अधिकृतका रूपमा कार्यरत थिए । उनको शव पोष्टमार्टमपछि परिवारजनले बुझेका छन् ।
यससँगै त्रिशूली नदीको गोरखातर्फको तटीय क्षेत्रमा मात्रै बाढीबाट ज्यान गुमाउनेको संख्या ६५ पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षति पुर्याउनुका साथै सरकारी सेवामा कार्यरत कर्मचारी तथा दक्ष जनशक्तिसमेत गुमाएको छ । शर्माको मृत्युले बाढीबाट भएको क्षतिको गम्भीरता थप उजागर गरेको छ ।
