१६ भदौ,वीरगञ्ज । रोजगारीको खोजीमा भारतको केरला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका–४ का २९ वर्षीय बिरेन्द्र मुखिया बिनको उपचारका क्रममा मृत्यु भएपछि उनको शव नेपाल ल्याउन गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
करिब एक महिनाअघि रोजगारीका लागि केरला पुगेका बिरेन्द्रलाई एक साताअघि अचानक ज्वरो आएको थियो। ज्वरो आएपछि स्थानीय अस्पतालमा उपचार गराउँदै आएका उनको स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि आइतबार राति निधन भएको परिवारजनले बताएका छन्।
बिरेन्द्रको मृत्यु भएपछि परिवारमा एकातर्फ आफन्त गुमाउनुको पीडा थपिएको छ भने अर्कोतर्फ शव नेपाल ल्याउन लाग्ने खर्च जुटाउने चुनौती देखिएको थियो। भारतको केरला राज्यबाट शव घरसम्म ल्याउन करिब दुई लाख रुपैयाँ खर्च लाग्ने जानकारी पाएपछि आर्थिक रूपमा कमजोर परिवार थप समस्यामा परेको थियो।
शव नेपाल ल्याउन आवश्यक रकम जुटाउन कठिन भइरहेको जानकारी पाएपछि जगरनाथपुर गाउँपालिकाका अध्यक्ष यादव सोमबार मृतकको घरमै पुगेका थिए। गाउँलेहरूको उपस्थितिमा अध्यक्ष यादवले बिरेन्द्रको शव नेपाल ल्याउन लाग्ने करिब दुई लाख रुपैयाँ तत्काल सहयोग गर्ने घोषणा गरेका हुन्।
स्थानीय विनय द्विवेदीका अनुसार बिरेन्द्र रामायण मुखिया बिनका माहिला छोरा हुन्। परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उनको शव घर ल्याउनसमेत स्थानीयस्तरमा सहयोग जुटाउनुपर्ने अवस्था आएको थियो।
अध्यक्ष यादवले बिरेन्द्रको निधनले परिवारमा परेको पीडाप्रति दुःख व्यक्त गर्दै मृतककी श्रीमती तथा तीन जना छोराछोरीलाई आगामी दिनमा समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
रोजगारीका लागि भारत पुगेका बिरेन्द्रको अकस्मात् निधनपछि अहिले परिवारले शव घर ल्याउने तयारी गरिरहेको छ। गाउँपालिका अध्यक्षको सहयोग घोषणापछि शव नेपाल ल्याउने प्रक्रिया सहज हुने परिवारले अपेक्षा गरेको छ।
