जनकपुर । रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि दोसान हाइड्रोपावर परियोजनामा कार्यरत धनुषा कमला नगरपालिकाका ३० वर्षीय इन्जिनियर अजयप्रसाद सिंह सम्पर्कविहीन छन् ।
उनकी एक महिनाकी सुत्केरी श्रीमती पूजा सिंह काखमा दुधे बालिका च्यापेर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा श्रीमान्को खबर पर्खिरहेकी छन् ।
“आजको दिन पनि बित्यो, तर मेरो श्रीमान्को खबर आएन। उहाँको क्याम्प आसपास अझै उद्धार टोली पुगेको छैन । भगवान्ले उहाँलाई सुरक्षित राखून्,” सामाजिक सञ्जालमा हारगुहार गर्दै उनले लेखेकी छन्। एक वर्षअघि मात्र अन्तरजातीय विवाह गरेका अजयकी एक महिनाकी छोरी छिन् ।
यस्तै नियति भोगिरहेका छन्, सप्तरीका श्यामसुन्दर यादव। रसुवाको नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारमा कार्यरत उनका भाइ इन्जिनियर अजयकुमार यादव बाढीपछि बेपत्ता छन् । भाइको खोजीमा रसुवा पुगेका श्यामसुन्दर भन्छन्, “खोजी र उद्धारका लागि सबैले आफ्नो तर्फबाट पहल गरिदिनुस्, भाइको अवस्था थाहा नहुँदा परिवार बेचैन छ।”
धनुषा र सप्तरीका यी दुई परिवारजस्तै मधेश प्रदेशका १६२ परिवार यतिवेला आफ्ना मान्छे फर्कने आशामा टोल्हाइरहेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीमा परी प्रदेशका आठै जिल्लाका कुल १९२ जना सम्पर्कविहीन भएको विवरण दर्ता भएकोमा ३० जना मात्रै सम्पर्कमा आएका छन् । बाँकी १६२ जनाको अवस्था अझै अज्ञात छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार प्रहरी र आफन्तको सम्पर्कमा आउन नसकेकाहरूमा सबैभन्दा बढी सप्तरीका ४८ जना रहेका छन्। यस्तै पर्साका ३८, बाराका २३, सर्लाहीका १६, रौतहटका १३, महोत्तरीका १०, सिरहाका ८ र धनुषाका ६ जना नागरिक अझै बेपत्ता छन् ।
बेपत्ता हुनेहरूमा जलविद्युत् आयोजना, सडक निर्माण, व्यापार९व्यवसाय र ज्याला मजदुरीमा संलग्न सर्वसाधारणका साथै ९ जना प्रहरी र ३ जना नेपाली सेनाका जवानसमेत रहेका छन् ।
घटनाको दिन बित्दै जाँदा बेपत्ताका आफन्तहरूमा आशासँगै निराशा पनि गाढा बन्दै गएको छ । कतिपय परिवार सामाजिक सञ्जाल र प्रहरी कार्यालय धाएर हारगुहार गरिरहेका छन् भने कतिपय आफन्त आफैँ जोखिम मोलेर रसुवाका खोंच र बगरहरूमा खोजी गरिरहेका छन् । मधेश प्रदेश प्रहरीले भने बेपत्ताहरूको सूची र विवरण सम्बन्धित जिल्ला तथा केन्द्रीय उद्धार टोलीलाई पठाइ खोजी कार्यलाई तीव्रता दिइएको जनाएको छ ।
