पर्सा १४ जगन्नाथपुर । पछिल्लो समय आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, व्यवस्थापन तथा पुनर्निर्माणका लागि जगन्नाथपुर गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको बैठकले बाढी प्रभावित नागरिक तथा परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले विभिन्न महत्वपूर्ण निर्णय गरेको हो। गाउँपालिकाका अनुसार मिति २०८३ साल साउन १० गते बिहान रौतहटको सुकुवा तथा बारा–पर्सा आसपासका क्षेत्रमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।
बैठकले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, व्यवस्थापन तथा पुनर्निर्माणमा सहयोग पुर्याउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको निर्णयअनुसार विपद् व्यवस्थापन कोषबाट ५ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरिनेछ। त्यस्तै, गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरूले पाउने एक महिनाको सुविधाबराबरको रकम समेत बाढीपीडितको सहयोगका लागि उपलब्ध गराउने निर्णय गरिएको छ।
त्यसैगरी, गाउँपालिकाका स्थायी कर्मचारीको हकमा नेपाल सरकारको निर्णयबमोजिम आर्थिक सहयोग गर्ने निर्णय भएको छ। गाउँपालिकामा कार्यरत करार कर्मचारीमध्ये अधिकृतस्तरदेखि सुरु तलब स्केलको ५ दिन बराबर तथा सहायक र श्रेणीविहीन कर्मचारीको ३ दिन बराबरको रकम कट्टा गरी आर्थिक सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गाउँपालिकाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बाढीपीडित नागरिकको पीडामा स्थानीय सरकारको साथ र सहयोग आवश्यक रहेको अवस्थामा गाउँपालिकाले गरेको यो निर्णयलाई मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र स्थानीय सरकारको दायित्व निर्वाह गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
