काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भाग जोड्ने मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा पहिरो खस्नुका साथै बाढीको उच्च जोखिम बढेपछि यातायात सेवा ठप्प तथा आंशिक रूपमा प्रभावित भएको छ ।
कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भदौ २३ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध छ । ताप्लेजुङ र झापालाई जोड्ने मुख्य सञ्चार मार्ग मानिने उक्त सडक बन्द भएपछि हाल सर्वसाधारणलाई वैकल्पिक बाटो प्रयोग गरी सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ ।
यसैगरी, बागमती प्रदेशको मुख्य राजमार्गका रूपमा रहेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिर र गजुरी गाउँपालिका–२ परेवाभिरमा भदौ १४ गते ठुलो पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प बनेको छ । यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो खस्दा आवतजावत ठप्प भएको छ ।
यता रसुवामा बाढीका कारण उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशुली-मैलुङ-स्याफ्रुबेसी सडक खण्डका साथै पासाङ ल्हामु सडक खण्डका मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन् । सडक अवरुद्ध भएसँगै दुर्गम हिमाली तथा पहाडी भेगमा खाद्यान्न तथा अत्यावश्यक सामग्रीको ढुवानीमा कठिनाइ हुनुका साथै यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
